Saturday, August 12, 2023

‘प्रगतिशील लेखक सङ्घ मेरो पाठशाला हो’ - मातृका पोखरेल

 शनिबार, २७ साउन २०८०

प्रतिध्रुवका मानिस वाम पार्टीमा प्रवेश गरेपछि प्रगतिशील आन्दोलन ध्वस्त भयो : मातृका पोखरेल




२०३६ सालतिरैबाट प्रगतिशील कवितामा सशक्त हस्तक्षेप गर्दै आएका साहित्यकार हुन् मातृका पोखरेल । कवितासँगै कथा विधामा उनको कलम तिख्खर छ । यसबाहेक उनले समीक्षा, निबन्ध र लेख आदिमा पनि कलम चलाएका छन् । प्रगतिशील साहित्यका क्षेत्रमा स्थापित साहित्यकार हुन् उनी ।

मार्क्सवादको सैद्धान्तिक प्रस्तावना एकदमै मन परेर सिर्जनातर्फ लागेको उनी बताउँछन् । समाज विकास र असल समाज निर्माणका लागि मार्क्सवाद ठीक हो । “भरसक साहित्य सिर्जनामा पनि असल समाज निर्माणमा सहयोग पुर्याउने ढङ्गले लेख्ने प्रयत्न गर्छु । तर, मैले लेखको साहित्य प्रगतिशील भयो या भएन भन्ने निर्णय पाठकले गर्ने हुन्,” उनी भन्छन् ।

साहित्यको प्रारम्भिक लेखन चाहिँ पोखरेलले कविताबाट सुरु नै गरे । “लेख्न त मैले २०३६ सालदेखि नै लेखेँ । कथा लेख्न सुरु गरेको त २०५१ सालदेखि मात्र हो, त्यो आधारमा कविता नै बढी लेखेँ,” उनी भन्छन्, “त्यस क्रममा चारवटा कविता सङ्ग्रह प्रकाशित भएका छन् ।” कथा सङ्ग्रह भने दुईवटा प्रकाशित छन् । तेस्रो कथा सङ्ग्रह प्रकाशनको तयारीमा रहेका उनको सङ्घर्ष र साहित्यिक दृष्टिकोण यहाँ राख्ने प्रयास गरिएको छ ।



गुरुकुलमा ज्योतिष हुँदै त्रिविबाट स्नातकोत्तरसम्म

मातृका पोखरेल २०२३ असार ९ गते उदयपुरको ठानागाउँ थामखर्कमा पिता नन्दलाल र माता सीता पोखरेलको माहिलो छोराका रूपमा जन्मिएका हुन् । अहिले यो ठाउँ ताप्ली गाउँपालिका–४ मा पर्छ । गाउँले परिवेशमा हुर्किएका उनको परिवार निकै शिक्षित र सम्पन्न थियो । 

“मेरा पिताजी ज्योतिष शास्त्र र पूर्वीय साहित्यकै विद्वान् हुनुहुन्थ्यो,” उनी भन्छन्, “हाम्रो घरमै ज्योतिषको गुरुकुल चलिरहन्थ्यो । अरू पनि पढ्न आइरहने । हामीले अनिवार्य ज्योतिष पढ्नुपर्ने अवस्था थियो ।” 

यसरी प्रारम्भिक शिक्षा नै ज्योतिषलाई चाहिने संस्कृत उनले सिके तर औपचारिक शिक्षा भने संस्कृतमा लिएनन् । 

त्यो समय तराईबाट शिक्षक झिकाएर विद्यालयमा पढाउने प्रचलन थियो । त्यस्ता शिक्षकलाई ‘काइते मास्टर’ भन्थे । “तराईमा पढाउने शिक्षकहरू कायस्थ समुदायका हुँदा रहेछन्,” उनी भन्छन्, “कायस्थ भन्न नजानेर गाउँमा चाहिँ अपभ्रंश भएर काइते भएको रहेछ, तर त्यसको मूल शब्द चाहिँ कायस्थ रहेछ ।” 

हुने, खानेहरूले आफ्ना छोराछोरीलाई पढाउन त्यतिबेला गाउँमा मास्टर झिकाउने चलन थियो । पोखरेल परिवार पनि हुने, खानेमा नै गनिन्थ्यो । 

उनको घरमा गाउँ गाउँबाट पढ्नका लागि विद्यार्थीहरू आउने गर्थे । उनी एकजना शिक्षकलाई धेरै सम्झन्छन्, जो पढाउन सुरु गर्नुभन्दा अगाडि नै विद्यार्थीलाई पिट्थे । यसरी विद्यार्थी पढ्न आउन नमानेपछि ती शिक्षकलाई उनका बुवाले बिदा दिएको पनि सम्झन्छन् । 

पाँच वर्ष लागेपछि उनी विद्यालय जान थाले । कतिपय शिक्षकहरू उनकै घरमा बसेर पढाउनका लागि विद्यालय जाँदा उनलाई पनि सँगै स्कुल लिएर जाने गर्थे । “त्यतिबेला हामीले कागजमा लेख्न पाइँदैन थियो, कागजमा लेख्ने चलनै थिएन,” उनी भन्छन्, “लेख्ने सामग्री तीन थरी हुन्थ्यो, बस्ने ठूलो पिर्कामा माटो पिँध्ने र धुलौट बनाएर लेख्ने ।  ज्योतिष पढ्दा त्यो नभई हुँदैन थियो ।” अलि ठूलो कक्षामा गएपछि काठको कालो पाटी बनाएर कमेरो माटोको डल्लाले लेख्ने प्रचलन आएको उनी सम्झन्छन् । 



पाँच वर्षको हुँदासम्म घरमै ज्योतिष पढे उनले । बुवाले नै ज्योतिष पढाउँथे । सबै दाजुभाइ सबैले ज्योतिष नै पढे । वामपन्थी आन्दोलनमा लागेपछि भने उनले ज्योतिषको काम छोडे । उनी हाँस्दै भन्छन्– “मैले एक हजारवटा भन्दा बढी चिना लेखेँ होला । तर २०४१ सालदेखि त्यो काम सबै छोडेँ । अहिले धेरै कुरा बिर्सिसकेँ ।” 

सबभन्दा पहिले बुवाले आश्विनी, भरुणी, कृतिका, रोहिणी जस्ता ज्योतिषसम्बन्धी र मेष, वृष, मिथुन, कन्या जस्ता राशिहरूबारे अध्ययन गराएको सम्झँदै उनी भन्छन्, “क, ख, ग जान्नुभन्दा पहिले यिनै कुरा सिकियो ।” पछि ठाना गाउँ विद्यालयबाट औपचारिक शिक्षा सुरु गरे । त्यो विद्यालय अहिले ककनीश्वर माध्यमिक विद्यालय भएको छ । 

“त्यतिबेला अहिलेको जस्तो टेबल, कुर्सीको व्यवस्था थिएन,” उनी भन्छन्, “हामीले बेन्चमा बस्नै पाएनौँ । गुन्द्रीसमेत थिएन । पूरै धुलैमा बसेर पढियो नि ।” तर मास्टरलाई चाहिँ बस्ने कुर्सी हुन्थ्यो । 

त्रिवेणी माध्यमिक विद्यालय कटारीबाट २०४० सालमा उनले एसएलसी उत्तीर्ण गरे । एसएलसीसम्म पुग्दा उनले धेरै विद्यालय चहारे । घरछेउमा कक्षा पाँचपछि अध्ययन गर्ने स्कुल नभएकाले घरदेखि केही पर रूपाटार स्कुलमा ७ सम्म अध्ययन गरे, ८ अध्ययनका लागि मामाघर सुनसरीको प्रकाशपुर गए । दाजु काठमाडौँमा जागिरे भएकाले एक वर्षको अध्ययनपछि फेरि भानु मावि रानीपोखरी काठमाडौँ आएर कक्षा ९ मा अध्ययन गरे । त्यसपछि कक्षा १० को अध्ययन गर्न उदयपुरको कटारी नै गएर एसएलसी उत्तीर्ण गरे । 

एसएलसीपछि महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा आइए भर्ना भए । त्यहाँ केही राजनीतिक वैचारिक समूहसँग सम्पर्क भयो । त्यसपछि रत्नराज्य क्याम्पस, काठमाडौँबाट स्नातक, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर गरे । अनि, औपचारिक पढाइ बिट मारेर साहित्य सिर्जनमै लागे । 

हुलाकमा ज्यालादारीदेखि भाषा आयोगको सदस्यसम्म

पोखरेलहरू सम्पन्न परिवारका भए पनि जीवन निर्वाहका लागि केही न केही गर्नुपर्छ भन्ने अठोट उनलाई लाग्यो । जागिरका लागि भौतारिँदै जाँदा उनले गोश्वारा हुलाक कार्यालयमा जागिर खाए । हुलाकको अस्थायी प्रकृतिको जागिरलाई तिलाञ्जली दिएर उनी विद्युत् प्राधिकरणमा करारमा काम गर्न थाले । त्यहाँ तीन वर्ष काम गरेपछि प्राधिकरणमा स्थायी भए । 

२०७० सम्म विद्युत प्राधिकरणमा काम गरेपछि उनले जागिर छोडे । अनि नेपाल प्रज्ञा प्रतिष्ठानमा २०७० देखि २०७४ सम्म प्राज्ञ परिषद् सदस्य भए । उनी अहिले भाषा आयोगका सदस्य छन् । 

रामायण हुँदै मार्क्सवादी चिन्तन

पोखरेलका घरमै आमाबुवाहरूले बिहान, बेलुका लय हालेर रामायण वाचन गर्थे । बिहान, साँझ र दिउँसो घरधन्दा र मेलापातमा रामायण र महाभारतका श्लोकहरू आमाबुवाले गाएको सुन्दासुन्दै उनी पनि गुनगुनाउन थालेका थिए । 

“गाईबस्तु, बाख्रा हेर्न जाँदा हामी रामायण र महाभारतका श्लोकहरू गाउँथ्यौँ,” उनी भन्छन्, “ती श्लोक हामीलाई कण्ठै हुन्थ्यो । पछि पछि यी महाकाव्य विस्तृत रूपमा अध्ययन गर्ने रुचि बढ्दै गयो ।” त्यसैले, उनी साहित्यिक प्रेरणाको पहिलो स्रोत आफ्ना बुवाआमालाई नै मान्छन् । 

यिनै साहित्यले उनलाई मौलिक सिर्जनातिर तान्यो । त्यसपछि उनले फाट्टफुट्ट कविता कोर्न थाले । केही समयपछि काठमाडौँ अध्ययन गर्न आएपछि मामा मोहिनी अधिकारीबाट दोस्रो प्रेरणा पाएको उनी बताउँछन् । 

“काठमाडौँमा दाजु र मामासँगै बस्दा ऊर्जाशील साहित्यिक वातावरण थियो । त्यहाँ गौरी खण्डकाव्य, राजेश्वरी खण्डकाव्यका कविता, लेखनाथका कविता जतिबेला पनि वाचन भइरहन्थे,” उनी भन्छन्, “त्यहीबेला भानु माविमा पढ्दाखेरी उपत्यकास्तरीय कविता प्रतियोगिता भयो । मैले पनि भानुको सम्झनामा भन्ने एउटा कविता लेखेर वाचन गरेँ ।” मामालाई पनि नदेखाएको त्यो कविता प्रथम भएपछि उनी चकित परे । पुरस्कारवापत अङ्ग्रेजी–नेपाली शब्दकोश पाए । सो शब्दकोश उनीसँग अझै सुरक्षित छ । 

यो नै उनको पहिलो कविता थियो । त्यसपछि उनले छन्दमा करिब १६ वटा कविता लेखे । तर कतै छापेनन् । प्रारम्भिक चरणमा लेखेका ती कविता अझै उनले सुरक्षित गरेर राखेको बताउँछन् । उनले यी सबै कविता कक्षा ९ मा अध्ययन गर्दै लेखेका थिए ।

आईए अध्ययन गर्न विराटनगर गएपछि उनको भेट प्रगतिशील साहित्यकारहरूसँग भयो । विराटनगरमा त्यतिबेला गिरिराजमणि पोखरेल, प्रदीप पोखरेलहरू साहित्यमा निकै चर्चित थिए । कृष्णभूषण बल साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिरहन्थे । ती कार्यक्रमहरू नछुटाई उनी उपस्थित हुन्थे । 

त्यतिबेला विराट् साहित्यिक कार्यक्रम नियमित सञ्चालन हुन्थ्यो । त्यहाँ गएर आफ्ना कविता वाचन गर्थे । “त्यस क्रममा प्रगतिशील साहित्यकार साथीहरूले अध्ययनका लागि केही किताबहरू दिनुभयो,” उनी भन्छन्, “त्यही समयबाट पारिजातका कृतिहरू, आनन्ददेव भट्ट, रमेश विकलका कृति अध्ययन गर्न थालेँ ।”

रामायण, महाभारतका साथै माधव घिमिरे, लेखनाथ पौडेलका सिर्जना पढेर हुर्किएका उनी त्यहीँबाट प्रगतिशील साहित्यतर्फ डोरिएको बताउँछन् । विस्तारै समाजलाई नयाँ ढङ्गले बुझ्न थाले । अनि उनी वामपन्थी आन्दोलनतर्फ अग्रसर हुन थाले, उनको लेखन पनि सोहीअनुसार परिवर्तन हुन थाल्यो । 

“एकपल्ट माधव घिमिरे विराटनगर जानु भएको थियो, उहाँलाई अभिनन्दन गरेका थिए । त्यहाँ घिमिरेले गौरी जानेको मान्छे खोज्दा म छु भनेर उठेँ,” उनी फुर्किंदै भन्छन्, “माधव घिमिरेलाई पहिलोपल्ट गौरी कण्ठस्थ सुनाइदिएँ ।” दीपेन्द्र सभागृहमा भएको सो कार्यक्रममा गौरी कण्ठस्त सुनाएपछि घिमिरे छक्क परेका थिए रे । 


पारिजातसँगको सङ्गत

आइए सकेर २०४४ सालमा काठमाडौँ आएदेखि नै उनी पारिजातसँग नजिक रहेर साहित्य सिर्जनामा लागे । काठमाडौँमा नेत्र आचार्यसँग बसेका थिए । आचार्य त्यतिबेला समीक्षा पत्रिकाको कार्यालयमा काम गर्थे । एकदिन उनले पोखरेललाई कविता छपाउन कार्यालयमा नै आएर कविता दिन सुझाव दिए । 

“मदनमणि दीक्षितले पत्रिका चलाउनु हुन्थ्यो, विनोदमणि दीक्षितले सम्पादन गर्नुहुन्थ्यो,” उनी भन्छन्, “समीक्षाले पनि कविताहरू छाप्छ, तपाई लगेर छपाउनु न भनेर आचार्यले सुझाव दिए ।” त्यतिबेलासम्म उनका कविता छापिएका थिएनन् । 

एकदिन विहानै कविता बोकेर पोखरेल समीक्षाको कार्यालय कालिकास्थान गए । गेटमा पुगेर मदनमणिलाई भेट्न आएको कहाँ हुनुहुन्छ भनेर मदनमणिलाई नै सोध्न पुगेछन् । “मदनमणि को हुनुहुन्छ भनेर सोधेँ, केका लागि भन्नु भयो, कविता दिनु थियो भनेँ । खै ल्याउनुस् त भनेर कविता हेर्नुभयो, अनि चिनो जस्तो लगाएर ऊ त्यहाँ लगेर दिनोस् भन्नु भयो ।” त्यो कविता समीक्षा पत्रिकामा छापियो । उनी भन्छन्, “त्यसपछि फेरि फेरि पनि ल्याउनुहोस् है भन्नु भयो ।” 

‘सूर्य उदाउ’ शीर्षकको उनको पहिलो कविता समीक्षा पत्रिकामा २०४५ वैशाखमा छापियो । रचना प्रकाशनले उनी मक्ख परे, साहित्यकारमा दरिए । समीक्षामा उनका ४, ५ वटा कविता प्रकाशित भए । पछि प्रगतिशील पत्रिका वेदनामा पनि उनका कविता छापिए ।  

यसरी समीक्षा, वेदना जस्ता साहित्यिक सिर्जनाका माध्यमबाट उनी प्रगतिशील आन्दोलनमा होमिए । त्यो आन्दोलन नेकपा चौथो महाधिवेशनको महिला सङ्घको अध्यक्ष रहेकी पारिजातले सञ्चालन गरेकी थिइन् । 

“उहाँहरूले प्रतिभा प्रवाह भन्ने साहित्यिक कार्यक्रम सञ्चालन गर्नुभयो । महिनाको तेस्रो शनिबार गोष्ठी हुन्थ्यो,” पोखरेल भन्छन्, “त्यसमा नियमित जाने गर्थें, त्यहाँ नै पारिजातसँग भेट भएको थियो ।” तर त्योभन्दा पहिले नै उनले पारिजातलाई चिनिसकेका थिए ।

म्हेपीस्थित पारिजातको घर प्रगतिशील लेखकहरूका लागि एक किसिमको चौतारो जस्तो थियो । नयाँ पुस्तालाई लेखनका लागि हौस्याउने, लेखिरहनुपर्छ भन्ने प्रवृत्ति थियो पारिजातको । कहीँ कतै नचिनिएकाहरूका रचना पनि सम्मानका साथ पढिदिएर हौस्याउने काम पारिजातले धेरैलाई गरेकी थिइन् । 

त्यसले पनि आफूलाई लेखनमा प्रेरणा मिलेको उनी बताउँछन् । “मेरो धेरै लामो सङ्गत त होइन पारिजात दिदीसँग,” उनी भन्छन्, “करिब वर्ष दिन जति नजिक रहेर काम गरेँ ।” उहाँले सञ्चालन गरेका हरेक साहित्यिक गोष्ठी तथा कार्यक्रममा नियमित सहभागी भएँ । 

पोखरेलले भूपी शेरचनलाई जम्माजम्मी एक पटक भेटेका थिए, २०४४ को अन्तिमतिर पारिजातकै घर म्हेपीमा । भूपी र पारिजातको सम्बन्ध वैचारिक कारण बिग्रिएको रहेछ । “त्यतिबेला भूपी राजकीय प्रज्ञा प्रतिष्ठानमा नियुक्ति लिएर जानु भएको थियो, त्यही कारण सम्बन्ध बिग्रेको हुन सक्छ ।” उनी भन्छन्, “त्यस दिन पारिजातकहाँ आउने कुरा जानकारी दिएर भूपी त्यहाँ गएका रहेछन्, बेलुका ४ बजेतिर पारिजातकहाँ म पनि पुग्दा उहाँ हुनुहुन्न थियो, अनि सुकन्या दिदीले भन्नुभयो, भाइ उहाँ भूपी शेरचन भनेर चिनाउनु भयो ।” 

भौतिक रूपमा नचिने पनि पोखरेलले कृतिमार्फत् भूपीलाई चिनी सकेका थिए । भूपीले पनि उनीसँग परिचय गरे । तर पारिजातकै कोठामा भएको त्यस कार्यक्रममा पारिजात नै उपस्थित भइनन् । “सुकन्या दिदीले पारिजात दिदी अहिले आउनुहुन्न होला, ढिलो गर्नुहुन्छ भन्नुभयो,” नराम्रो मान्दै उनी भन्छन्, “अनि भूपीले भन्नुभयो, कुर्छु कुर्छु अनि घुर्छु भन्नुभयो ।” 

त्यति बेलाका चर्चित साहित्यकारहरूको सङ्गतले पनि उनको सिर्जना कार्यलाई प्रोत्साहन मिल्यो । अहिलेसम्म उनका सेतो दरबारको छेउबाट, यात्राको एउटा दृश्य, अनुहारहरू, मित्रताको आकाश कविता सङ्ग्रह प्रकाशित छन् । सन्त्रस्त आँखाहरू, घाम झुल्किनुअघि उनका प्रकाशित कथासङ्ग्रह हुन् । 

प्रलेस बहिष्कारदेखि अध्यक्षसम्म

विसं २०३६ मा प्रगतिशील पुनर्गठित हुँदा रघु पन्त प्रगतिशील लेखक सङ्घका संयोजक थिए । पोखरेल विराटनगर गएपछि त्यसको गतिविधि नजिकबाट नियालिरहेका थिए । त्यतिबेला राजनीतिक आन्दोलन भइरहेकाले यस खालका विभिन्न कार्यक्रमबारे उनी सुनिरहन्थे । 

उनी काठमाडौँ आएपछि सङ्घमा आबद्ध केही व्यक्तित्वहरूसँग निकट रहे । “निवन्धकार रुद्र खरेलले प्रगतिशील लेखक सङ्घको प्रथम सम्मेलन छ भनेर लैजानुभयो । प्रतिनिधि नै नभई नेपाल ल क्याम्पसमा गएर कार्यक्रम सुनँे,” उनी भन्छन्, “आनन्ददेव भट्ट, रमेश विकल, भवानी घिमिरे, जनकप्रसाद हुमागाईलाई पहिलो पटक देखेको त्यहीँ हो । त्यसपछि त प्रगतिशील लेखक सङ्घ त मेरो पाठशाला नै भयो ।” दोस्रो, तेस्रो हुँदै अहिले सम्मका कुनै पनि राष्ट्रिय सम्मेलन उनले छुटाएका छैनन् । 

कवि आहुतिले दोस्रो राष्ट्रिय सम्मेलन २०४८ मा उनलाई प्रलेसको सदस्य बनाए ।  तेस्रो सम्मेलनबाट उनी राष्ट्रिय परिषद्को सदस्य भए । वैचारिक मतभेदका कारण चौथो राष्ट्रिय सम्मेलन उनले बहिष्कार गरेका थिए । श्यामप्रसाद शर्मा दोस्रो र तेस्रो सम्मेलनमा अध्यक्ष भएका थिए । 

“प्रलेसका अध्यक्षजस्तो मान्छेले महेन्द्र प्रज्ञा पुरस्कार र मुक्ति पुरस्कार लिनुभयो । त्यसपछि, प्रगति लेखक सङ्घमा ठुलो विवाद आयो,” उनी भन्छन्, “राजाको नामको पुरस्कार लिनु हुँदैन भन्ने थियो । सीताराम प्रसाईंहरू पनि विवादित हुनुहुन्थ्यो, उहाँहरू कुनै साहित्यिक व्यक्ति र समाजमा कुनै योगदान गरेको मानिस नभएकाले पुरस्कार लिनु हुँदैन भनेर ठुलो आवाज उठेको थियो ।” यही कारण श्यामप्रसाद शर्माले पछि राजीनामा पनि दिए । यस्तै सङ्घभित्र महाकाली सन्धिलाई हेर्ने दृष्टिकोणमा पनि विवाद चर्केको थियो । 

प्रलेसमा विवादको अर्को कारण पनि थियो । महाकाली सन्धिलाई पोखरेल लगायतले हेर्ने दृष्टिकोण राष्ट्रघाती थियो । तर, तत्कालीन नेकपा एमालेले महाकाली सन्धि पारित गरेको थियो । यही विषयमा वैचारिक द्वन्द्व भयो । त्यही प्रभाव प्रगतिशील लेखक सङ्घमा परेको पोखरेल बताउँछन् । 

“विभिन्न ढङ्गले एमालेले श्यामप्रसादलाई बोक्यो । हामीले श्यामप्रसादको आलोचना गर्यौँ ।” उनी भन्छन्, “अनि अध्यक्ष र महासचिव एमालेले नै लिने भएपछि हामीले त्यसलाई स्वीकार गरेनौँ ।” अनि चौथो सम्मेलन बहिष्कार भयो । 

प्रलेसको छैटौँ राष्ट्रिय सम्मेलनमा पोखरेल कोषाध्यक्ष भए, सातौँमा सचिव भए । नवौँमा उपाध्यक्ष र दसौँ सम्मेलनमा अध्यक्ष हात पार्न सफल भए । 

प्रलेसका कामकारवाही

प्रगतिशील लेखक सङ्घलाई सामन्तवाद, साम्राज्यवाद विरोधी साहित्यकारहरूको एउटा मोर्चा ठान्छन् पोखरेल । प्रगतिशील साहित्यको प्रवद्र्धन गर्नु नै यसको मुख्य काम हो । प्रशिक्षण दिने, पत्रपत्रिका निकाल्ने, विभिन्न गोष्ठी गर्ने, मार्क्सवादी साहित्यको प्रवद्र्धन गर्न योगदान दिने काम यो सङ्घले गर्दै आएको उनी बताउँछन् । 

समाजमा भइरहेका गैरजनपक्षधर कार्यक्रमहरूको विरोध गर्नु, साहित्यिक ढङ्गले प्रतिरोध गर्ने काम पनि सङ्घले गर्ने गरेको उनले बताए । “२०४६ चैत ३ को कालो पट्टी अभियान साहित्यिक क्षेत्रमा चर्चित छ । त्यसमा प्रगतिशील लेखक सङ्घको ठूलो योगदान थियो,” पोखरेल सम्झन्छन् ।

माओवादी जनयुद्धका बेला पोखरेल प्रगतिशील लेखक सङ्घको सचिव थिए । त्यतिबेला सरकारले सङ्कटकाल घोषणा गरेको थियो । त्यतिबेला कार्यालय सञ्चालनमा गर्न निकै कठिन भएको थियो । 

“प्रलेसकै कार्यालयबाट लेखक साहित्यकारहरूलाई गिरफ्तार गर्ने, थुन्ने काम सरकारबाट भयो,” पोखरेल भन्छन्, “त्यतिबेला सरकारले झापामा साहित्यकार डी कौडिण्यको हत्या गर्यो । नवीन विभास, पूर्णविरामलाई बेपत्ता बनायो ।” त्यो समयमा प्रलेसले धेरै काम गरेको उनी सम्झन्छन् । त्यही समयमा कृष्णसेन इच्छुकको पनि हत्या भएको थियो । 

२०४६ सालमा पोखरेल अनेरास्ववियु काठमाडौँका अध्यक्ष थिए । राजनीतिक आन्दोलन निकै चर्केको थियो । उनी पनि आन्दोलनमा होमिए । सरकारले राजनीतिक आस्थाका आधारमा उनलाई जेलमा कोच्यो । त्यसपछिका गिरफ्तारी भने लेखेकै आधारमा भएका छन् । 

प्रलेसमा अध्यक्ष हुँदा उनले परी संवाद थालनी गरे, जसलाई पछिसम्म निरन्तरता दिए । त्यस कार्यक्रममार्फत् सिर्जनात्मक र वैचारिक छलफल अझै चल्दै आएको छ । “म आउनुभन्दा अगाडि २५÷२६ वटा जिल्लामा प्रलेस जिल्ला समिति थियो,” उनी भन्छन्, “मैले करिब ६२ जिल्लामा त्यसलाई विस्तार गरेँ ।” 

उनी २०७० सालमा प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ भए । त्यसबेला पनि प्रगतिशील साहित्यसम्बन्धी केही काम गरे । “नेपाली कथामा प्रगतिशील साहित्य, नेपाली साहित्यमा दलित भनेर मेरै पालामा पहिलो पटक कृति प्रकाशन गरेको हो । काव्य विभागले प्रगतिशील काव्य भनेर इतिहास नै लेखायो,” उनी भन्छन्, “प्रगतिशील योजनाअन्तर्गत नै ती काम भए ।” 

प्रज्ञामा त्यसअघि प्रगतिशील साहित्यलाई अन्य विचारधारा भएकाहरूले जुन ढङ्गले हेप्थे, त्यहाँ गएर आफूले सम्मानित बनाउन सकेको भन्दै गर्व गर्छन् उनी । 


प्रतिध्रुवका मानिसले प्रगतिशील साहित्यलाई कमजोर बनाए

नेपालमा गणतन्त्र आएपछि प्रगतिशील लेखकहरूको दायरा र विषयवस्तु फराकिला हुँदै गएको छ । तर प्रगतिशीलको अर्थलाई भने सङ्कुचित बनाउँदै लगिएको उनी बताउँछन् । 

“वामपन्थी पार्टीमा सहभागी भएर लेख्ने मान्छे जोसुकैलाई प्रगतिशील भन्ने प्रवृत्ति मौलाएको छ । वामपन्थी पार्टीमा लागेकै भरमा प्रगतिशील लेखकको ट्याग लगाइदिने प्रवृत्ति बढेको देखिन्छ ।” पोखरेलको यसमा आपत्ति छ । 

प्रतिध्रुवका मानिसहरू पनि वाम पार्टीमा प्रवेश गरेका छन् । उनीहरूले आफ्नो लेखनमा केही परिवर्तन ल्याएका छैनन् । त्यस्तालाई सदस्यता दिइँदा प्रगतिशील आन्दोलन ध्वस्त भएको उनी बताउँछन् । 

“कि त ऊ आफैँ परिवर्तन हुनुपर्यो, पारिजात र अरू जसरी परिवर्तन हुनुभयो नि । त्यत्रो नेतृत्व नै गर्नुभयो प्रगतिशील आन्दोलनको,” उनी भन्छन्, “कतिपयले यहाँ आएर सच्याएका पनि छन् कि त्यसरी सच्चिनु पर्यो ।” धेरै लेखकमा यस किसिमका परिवर्तन आउन सकेको छैन । यसले प्रगतिशील साहित्यलाई कमजोर बनाएको उनको जिकिर छ । 

प्रगतिशील आन्दोलनको उद्देश्य वर्गीय हित, सर्वहारा वर्गको हितको कुरा गर्ने, जनपक्षधर कुरा गर्ने हो । तर अहिले वाम पार्टीहरू नै राज्यसत्ता कसरी हात पार्ने भनेर संसदीय व्यवस्थातिर लागेपछि आन्दोलन नै भद्रगोल भएको छ । 

“एकातिर संसदीय व्यवस्थामा खुट्टा टेकेको छ, अर्कोतिर प्रगतिशील आन्दोलन कसरी चल्छ ?” उनी भन्छन्, “हामीभित्रै यस्ता थुप्रै भड्खालाहरू छन्, हामी पनि खण्डित भइसकेका छौँ ।” 

श्यामप्रसाद शर्माहरूले प्रगतिशील साहित्य सुरु गर्दा मार्क्सवादी लेखकहरूको र प्रगतिशील लेखकहरूको संस्थाका रूपमा मात्र थिएन, सामान्तवाद, साम्राज्यवाद विरोधी सबै स्रष्टाहरूको संयुक्त मञ्च थियो । पछि विस्तारै विस्तारै वामपन्थी पार्टीहरूको सांस्कृतिक मोर्चाको साझा मञ्च हुन थालेको हो । 

“सबैको एउटै धारणा बन्छ भने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद मान्ने स्रष्टाहरूको मञ्च बनाउन विधामा व्यवस्था गरियो,” उनी भन्छन्, “यसलाई परम्परागत ढङ्गबाट नै चलाउनु पर्छ भन्ने आवाज पनि उठ्यो ।” यो धारणा अहिले पनि उठिरहेको छ । अहिले लगभग सबै खालका साहित्यमा प्रगतिशील चेत देख्दा उनलाई सन्तोष लाग्छ । 


000

वार्ताकार : मोहन दाहाल 


रातोपाटी 

शनिबार, २७ साउन २०८०

बाट साभार 


No comments:

Post a Comment