भक्तपुर, १४ चैत २०८२ । कथाकार रत्न प्रजापतिलाई एक समारोहबिच धनमान कथा पुरस्कार प्रदान गरिएको छ । लघुकथा समाजको आयोजना तथा सिर्जना अभियान समाजको संयोजनमा भएको सो समारोहमा भाषा आयोगका सदस्य तथा कथाकार मातृका पोखरेलले धनमान कथा पुरस्कार प्रदान गर्नुभयो ।
समारोहमा कथाकार प्रजापतिलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि पोखरेलले पुरस्कार लेखकको सम्मान र सिर्जनाको मूल्याङ्कन हो भन्नुभयो । उहाँले कथाकार रत्नका कथाले स्थानीय संस्कृति र भावनालाई पनि महत्व प्रदान गरेको बताउनुभयो ।
कथाकार धु्रव मधिकर्मीले पुरस्कृत स्रष्टाको परिचय प्रस्तुत गर्दै प्रजापतिका प्रत्येकजसो कथामा रतिराग र प्रेमको अनुभूतिलाई विविध सन्दर्भमा प्रभावकारी रूपले चित्रण गरिएको पाइन्छ भन्नुभयो ।
पुरस्कारका दाता एवं वरिष्ठ कथाकार धनमान श्रेष्ठले कथाप्रति आफ्नो रुचि भएकाले स्रष्टाहरूको सम्मानको लागि पुरस्कार स्थापना गरेको बताउनुभयो ।
समारोहमा पुरस्कृत स्रष्टा प्रजापतिले पुरस्कारले आफूलाई लेखनमा अझ जिम्मेवारीपूर्वक लाग्न प्रोत्साहित गरेको बताउनुभयो ।
समाजका अध्यक्ष तथा समारोहका सभापति तुलसीहरि कोइरालाले समाजले पुरस्कारबाट स्रष्टा र सिर्जनाको सम्मान हुन्छ भन्नुभयो ।
नेपाली साहित्यको कथा र लघुकथा विधाका स्रष्टाहरूको प्रोत्साहनको लागि स्थापना गरिएको सो पुरस्कार प्रत्येक वर्ष कथा र लघुकथातर्फ आलोपालो गरी प्रदान गरिंदै आएको छ ।
000
https://onlinemajdoor.com बाट साभार




















No comments:
Post a Comment