Friday, September 18, 2026
‘मलाई पनि निद्रा लागेन’कृतिमाथि विशद बहस
Wednesday, August 26, 2026
अनिलको कविताकृतिमाथि परिचर्चा
काठमाडौं । कवि अनिल श्रेष्ठको नवीनतम कविताकृति ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’माथि परिचर्चा सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कविताकृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समीक्षक बद्रीप्रसाद ढकालले अनिलका कविताले समाजको यथार्थ चित्रण गरेको बताए । यो कृति सशक्त कविताहरूको संग्रह भएको बताउँदै ढकालले कवितामा कविले भुइँमान्छेको आवाज बोलेको बताए ।
अर्का समीक्षक अमृता शर्माले कवि श्रेष्ठ मूलतः वैचारिक र गम्भीर चेतना भएका कवि भएको उल्लेख गर्दै वर्तमानको कुरूप यथार्थप्रति उनका कविताले दह्रिलो प्रहार गरेको बताइन्। समीक्षक शर्माले यो कृति आजको समयको सशक्त प्रतिपक्षी कविता भएको उल्लेख गरिन् ।
समीक्षक विष्णु ज्ञवालीले ६७ वटा कविताहरू समेटिएको यस कृतिमा सामाजिक, राजनीतिकलगायत अनेक विकृति विसंगतिमाथि कविले खरो प्रहार गरेको बताए । उनले कम्युनिष्ट आन्दोलनका समस्या पनि कवितामा आएको उल्लेख गरे ।
प्रमुख अतिथि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कविले यो शीर्षक राखेर चुनौती स्वीकार गरेको बताउँदै यो कविताकृति कविताका पाठकमात्र नभएर राजनीतिज्ञ, प्रशासक सबैको हातहातमा पुर्याउनु पर्नेमा जोड दिए ।
आँबुखैरेनी स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा कृतिकार श्रेष्ठका साथै केशव पराजुली, विमल भौकाजी, मातृका पोखरेल, मित्रलाल पंज्ञानी, प्रा. कपिल अज्ञात, तेजविलाश अधिकारीलगायतले आफ्ना धारणा राखे ।
000
https://baahrakhari.com बाट साभार
Saturday, June 27, 2026
‘क्षितिजका रङहरू’ नियात्रासङ्ग्रहको सार्वजनीकरण
माधव घिमिरे ‘अटल’
काभ्रे । बहुआयामिक साहित्यकार महेन्द्र चालिसेको दोस्रो नियात्रा कृति “क्षितिजका रङहरू” यही २०८३ असार १३ गते काभ्रेको कुन्ताबेसीस्थित नव प्रतिभा इङ्लिस स्कुलमा सार्वजनीकरण भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्तले आफूले ‘क्षितिजका रङहरू’ चौबीस घण्टा नबित्दै आफूले अध्ययन गरिसकेको भन्दै आफूले “पृथ्वीनारायण शाहका चिठी” सम्पादन गरेको प्रसङ्ग पनि कोट्याए । उनले बीचबीचमा संस्कृतका सूक्तिहरू मिसाएर ठट्यौलो पाराले आफ्नो महत्त्वपूर्ण वाणीलाई विश्राम दिए ।
नियात्राकार महेन्द्र चालिसेले विरासत धान्न आग्रह गर्ने युवराज मैनालीको नाम उच्चारण गरे । रमेश खनाल र विमल पौड्यालको समेत नामोच्चारण गर्दै उनले यो कृतिको सम्पूर्ण जस उनै तीन जनालाई दिए । त्यसरी नै आफैँले अढाइ दशकअघि स्थापना गरेको नव प्रतिभा विद्यालयलाई पनि चालिसेले धन्यवाद ज्ञापन गरे ।
वरिष्ठ साहित्यकार रोचक घिमिरेले अब महेन्द्र चालिसेलाई रमेश विकलका छोरा वा विजय चालिसेका भाइ भन्ने परिचय गराउन जरुर नभएको बताउँदै विकलसँगका आफ्ना यादगार क्षणहरूको स्मरण मात्र गरेनन् बरू उनीसँगका सान्निध्य पनि उजागर गरे । महेन्द्रको कृति विमोचनमा आफू सहभागी हुन पाउँदा हर्ष लागेको बताउँदै घिमिरेले ‘बुलाँकी माया’ शीर्षकीय कविता वाचन गरे ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्यले रोचक घिमिरेको खरोपनको खुलेर प्रशंसा गर्दै महेन्द्र चालिसेको स्वभाव पनि उस्तै रहेको उनको भनाइ थियो । विद्यालयको यो विशाल कार्यक्रम आयोजना आफैँमा पुनीत कर्म भएको कर्माचार्यको कथन थियो ।
वरिष्ठ समालोचक गोपी मैनालीले महेन्द्र चालिसेको ‘लेकबेसीको सुगन्ध’ यही सेरोफेरोमा सार्वजनीकरण गरेपछि दोस्रो नियात्रासङ्ग्रह ‘क्षितिजका रङहरू’ आज लोकार्पण भएको अवगत गराउँदै एउटा सार्थक सिकाइका निम्ति चालिसेले लेख्ने गरेको बताए । मैनालीले ‘सहर परिचित अनुहारको न्यानो खोजिरहेछ’ जस्ता सूक्तिमय वाक्यहरू समाविष्ट गरी लेख्ने कम लेखकमध्ये चालिसे एक भएको जिकिर गरे । कृतिभरिकै साङ्गोपाङ्ग शल्यक्रिया गर्दै मैनालीले कृति सामान्य पाठकका निम्ति समेत सङ्ग्रहणीय भएको दाबी गरे । चालिसेको यात्रा निरुद्देश्य,अत्यन्त हतारमा तथा कसैको प्रायोजनमा हुने गरेको भन्दै चालिसेलाई कुनै पनि ठाउँ मनपर्ने मैनालीको दाबी थियो । प्रकृतिभन्दा पर्यटनलाई बेसी महत्त्व दिएको भन्दै दृश्य कम र दृष्टिकोण बढी चालिसेको वैशिष्ट्य भएको मैनालीको कथन थियो ।
अर्का वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले सङ्क्षिप्त रूपमा कृति समीक्षाको दैलो उघार्दै महेन्द्र चालिसेको तीक्ष्ण स्मरण शक्तिको सराहना गरे । ‘क्षितिजका रङहरू’ नियात्रासङ्ग्रह काव्यिक शैली तथा सूक्तिमय भाषामा लेखिएको भण्डारीले जिकिर गरे ।
साहित्यकार महेश प्रसाईले आयोजकलाई बधाई ज्ञापन गर्दै यहाँ यति लोकप्रिय कार्यक्रम राखेकामा सन्तोष व्यक्त गरे । एक फरक प्रसङ्गमा प्रसाईले डा.विप्लव ढकालको ‘पोएट्री म्युजियम’ अभियानलाई सघाउन आग्रह पनि गरे । विभिन्न वरिष्ठ व्यक्तित्वहरूको नाम लिँदै प्रसाईले बिग्रँदै गरेको पठन संस्कारलाई पुनः जागृत गर्न उपस्थित आगन्तुकहरूलाई आह्वान गरे ।
अर्का समालोचक युवराज मैनालीले कृति सफलताको शुभकामना दिँदै महेन्द्र चालिसे धेरै साधना नगरी जे फुर्यो त्यही लेख्ने व्यक्ति भएको र यो पुस्तक त्यसैको साक्ष रहेको जिकिर गरे । उनले मन्डनदेउपुर नपालाई राष्ट्रियस्तरको पुरस्कार घोषणा गर्न पनि घच्घच्याए । उनले चालिसेलाई इन्द्रावतीजस्तै बगिरहन आग्रह गर्दै सङ्ख्याभन्दा गुणस्तरलाई ध्यान दिन सुझाए ।
साहित्यकार तेजप्रकाश श्रेष्ठले महेन्द्र चालिसेसँगको उठबसको खुलासा गर्दै उनको लेखन सक्रियताको तारिफ गरे भने स्वागत मन्तव्यकै सिलसिलामा कवि डा. विप्लव ढकालले कृति सफलताको कामना महेन्द्र चालिसेले माहुरी बनेर विचरण गर्दै आफूहरू जस्तै पाठकलाई साहित्यिक मह चटाइरहेको ठोकुवा गरे ।
समाजसेवी दीपक पौडेलले विद्यालय र त्यसका प्राचार्यको मुक्तकण्ठले प्रशंसा गर्दै स्थानीय भूगोल र बासिन्दाको सङ्क्षिप्त परिचय दिए । उनले सम्पूर्ण अतिथिहरूलाई स्वागत गरे ।
मन्डनदेउपुर नपा वार्ड नं -७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले यस्तो गहन कार्यक्रम गरेकोमा विद्यालयको तारिफ गर्दै आफूहरूले नै गर्नुपर्ने यो कार्यक्रमको आयोजना विद्यालयले गरेकोमा उनले हर्ष व्यक्त गरे । सङ्कटमा हरेस नखाईकन अघि बढ्न सबैलाई आग्रह गर्दै आफूहरू पनि यस्ता कार्यक्रम आयोजना गर्न लालायित भएको खुलासा गरे ।
कार्यक्रममा डा. गोपाल पौडेलले शार्दूलविक्रीडित छन्दको ‘प्रेमिकाको सम्झनामा’ शीर्षकीय कविता वाचन गरे भने जुनु श्रेष्ठले विद्यार्थीलाई अर्ती दिने गजल वाचन गरिन् । सञ्चारकर्मी नवराज बजगाईले साहित्यले समाज बोल्ने, संस्कार र संस्कृति बोल्ने र समाजलाई सकारात्मक रूपान्तरण गर्ने बताए ।
नव प्रतिभा इङ्लिस स्कुलका प्राचार्य होमप्रसाद चौलागाईको अध्यक्षतामा आयोजित विमोचन समारोहमा भाषा आयोगका सदस्य तथा प्रलेस पूर्व अध्यक्ष मातृका पोखरेल, वरिष्ठ बालसाहित्यकार प्रमोद प्रधान, महाकाव्यकार बाजुराम पौडेल, परशुराम परासर, कर्णाद महर्षि, नेपाल उपन्यास समाजका अध्यक्ष शङ्कर भारती, स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवाल, वरिष्ठ साहित्यकार डिल्लीराम मिश्र श्रमजीवी, विमल अर्याल, वसन्त रिजाल, एनबी जनकपुरी, प्रमोद स्नेही, सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल, गजलकार प्रमोद भण्डारी, आलोक चालिसे, सञ्चारकर्मी जयराम बिडारी, प्रतीक घिमिरे, दुर्गाप्रसाद अधिकारी भमरकोटे, ध्रुबराज थापा,निबन्ध आचार्य , एन्जल निलु, बिमल कोइराला, रुपा चालिसे लगायतका झन्डै दुई सय स्रष्टाहरूको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण सोही विद्यालयकी शिक्षिका दीपिका ढकालले गरिन् ।
000
https://smartpati.com बाट साभार
Sunday, March 29, 2026
रत्न प्रजापतिलाई धनमान कथा पुरस्कार प्रदान
भक्तपुर, १४ चैत २०८२ । कथाकार रत्न प्रजापतिलाई एक समारोहबिच धनमान कथा पुरस्कार प्रदान गरिएको छ । लघुकथा समाजको आयोजना तथा सिर्जना अभियान समाजको संयोजनमा भएको सो समारोहमा भाषा आयोगका सदस्य तथा कथाकार मातृका पोखरेलले धनमान कथा पुरस्कार प्रदान गर्नुभयो ।

















































































